शुक्रबार, २३ असोज, २०८३ (1705515300)
बिहीबार माघ ४, २०८०

थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने 

सोलुखुम्बु :      थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधन हुने भएको छ । इको हिमाल नेपालको समन्वयमा द ग्लासियर ट्रष्ट बेलायत र थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा कफी प्रशोधन हुने भएको हो ।      जसको लागि करिब ७० लाख मुल्य बराबरको प्रशोधनका उपकरण खरिद गरिने छ । उपकरण खरिदमा गाउँपालिका र द ग्लासियर ट्रष्टको लगानी हुने छ भने अन्य तालिम लगायतमा इको हिमाल नेपालको भुमिका रहने बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितको बैठक बसी निश्कर्षमा पुगेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
    प्रवक्ता कार्कीका अनुसार गाउँपालिका केन्द्र मुक्लीमा विहिबार नै कफी प्रशोधनका लागि आवश्यक संरचना लगायतको अध्यायन गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकाल र द ग्लासियर ट्रष्ट बेलायतका प्रमुख रिचार्ड सहितले स्थलगत अध्ययन गर्नुभएको हो ।

    कफी निर्यातमा रोक लगाएको थुलुङ दुधकोशी गाउँपालिकाले कृषकको कफी खरिदका लागि कृषि बनश्रोत केन्द्र देउसालाई जिम्मा दिने भएको छ । यस अघिनै गाउँपालिकामा उत्पादन भएको कफी बाहीर निर्यात गर्न रोक लगाउने पालिका अध्यक्ष स्तरीय निर्णय भएको थियो ।
     सोही निर्णय कार्यान्वयनार्थ बीऊ पुँजीको रुपमा थुलुङ दुधकोशी गाउँपालिकाले रु.४ लाख र इको हिमाल नेपालले रु.४ लाख गरि जम्मा रु.८ लाखको छुट्टै खाता निर्माण जम्मा गर्ने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।  

   कफीको बैज्ञानिक मुल्य निर्धारण गरि कृषकबाट खरिद गरि प्रशोधन गर्ने भएपछि कृषकलाई सहज हुने गाउँपालिकाले विश्वास लिएको छ । विगत ५ वर्ष देखि देउसा कृषि बन श्रोत केन्द्रले कफी खरिद गरि निर्यात गर्दै आएको छ । देउसामा संकलन भएको अधिकांश कफी नेपाल अर्गानिक कफी काठमान्डौ लाने गरिएको छ ।
 इको हिमाल नेपालको समन्वयमा परीक्षणको लागि बेलायत र जर्मनमा समेत पु¥याएको इको हिमाल नेपालका कार्यकारी निर्देशक नारायण ढकालले बताउँनुभयो ।  भौतिक पुर्वधार संगै आर्थिक विकासलाई जोड दिएर पालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।