शनिबार, २४ असोज, २०८३ (1691432100)
मंगलबार श्रावण २३, २०८०

थुलुङदुधकोशी – एम्बुलेन्स सेवा सुरु, सुत्केरीदेखि ज्येष्ठ नागरिक सम्मलाई निशुल्क 

सोलुखुम्बु :  थुलुङ दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय नागरिकबाट सहयोग संकलन गरि दुधकोसी सामुदायिक अस्पताल निर्माण गरेको गाउँपालिकाले यही महिनादेखि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको हो ।
मुक्लीमा सञ्चालित अस्पतालमा यसै महिना एमडीजीपी डाक्टरको नियुक्ति गरेको पालिकाले जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा दिने नीति लिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउँनुभयो ।

जिल्लाका नागरिक सामान्य उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि पूर्वाधार, उपकरण र चिकित्सकको व्यवस्था गरिएको पालिकाले जनाएको छ ।  अब गाउँपालिकाको मातहतमा उक्त अस्पताल सञ्चालन गर्ने गरि कार्यपालिकाबाट निर्णय समेत गरिएको प्रवक्ता कार्कीले बताउँनुभयो ।

सुत्केरी देखि ज्येष्ठ नागरिकसम्मलाई निशुल्क सेवा 

गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स मार्फत सुत्केरी महिलाले निशुल्क सेवा प्राप्त गर्ने भएका छन् । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार सुत्केरी र जटिल अवस्थाका गर्भवति महिला, ८० वर्ष माथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकाहरूलाई निशुल्क सेवा दिइनेछ । एम्बुलेन्स सञ्चालनमा आएसँगै नागरिकले सहज सेवा पाउने आशा गरेकाछन् ।

नागरिकको हितमा काम गर्नु सरकारको दायित्व भएकाले सोही अनुसार नीति निर्माण गरि काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । जुनसुकै क्षेत्रको निर्णय गर्दा नागरिकलाई केन्द्रमा राखेर गर्ने गरिएको उहाँको दाबी छ । थुलुङ दुधकोशी गाउँपालिका अन्तरगत मुक्ली स्वास्थ्य चौकीद्वारा सञ्चालित एम्बुलेन्सले दुइ जना सुत्केरी महिलालाई सेवा समेत दिइसकेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।